अर्थ-वाणिज्य

प्रदेश नम्बर ७ को बजेटका बारेमा मिश्रित प्रतिकृया ।। अडियो रिपोर्ट सहित ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
७ नम्बर प्रदेश सरकारले ल्याएको बजेटका बारेमा मिश्रित प्रतिकृया आएको छ । केहीले बजेटलाई राम्रै मानेका छन् भने केहीले सबैलाई समेट्न नसकेको गुनासो गरेका छन् ।

 

प्रदेश नम्बर ७ को प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७५–०७६ को बजेटमा अपांगता भएका व्यक्तिहरुलाई सम्बोधन नगरिएको प्रति अपांगता भएका व्यक्तिहरुले खिन्नता बोध गरेका छन् । निर्वाचन ताका खाइपाई आएको सामाजिक सुरक्षा भत्तामा बृद्धि गर्नेभन्दै चर्का भाषण गरेका नेताहरुले जितेर सरकारमा गएपछि आफुहरुप्रति बेवास्ता गरेको अपांगता भएका व्यक्ति नरबहादुर चन्दले गुनासो गरेका छन् । 

 

शुक्रबार सार्वजनिक बजेटले कृषि क्षेत्रलाई प्राथमिकता दिएको भन्दै किसानले बजेटलाई सकारात्मक रुपमा लिएका छन् । कुल २५ अर्ब ६ करोड ५६ लाख १४ हजार बराबरको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको प्रति सात नम्बर प्रदेशका कृषकहरुले खुसी व्यक्त गरेका हुन् । स्थानीय अगुवा कृषक खडग चौधरीले प्रदेश नम्बर ७ को बजेटले कृषकहरुलाई विशेष महत्व दिएको प्रतिकृया दिएका छन् । यद्यपी कृषकहरुलाई सञ्चार संग जोड्ने गरी कार्यक्रम ल्याउनुपर्नेमा उनको सुझाव छ ।

 

बजेटमा संघीयता कार्यान्वयन, कृषिमा आत्मनिर्भर बन्ने, सन्तुलित प्रादेशिक विकास, गरीबी न्यूनीकरण लक्षित कार्यक्रम, जलस्रोतको बहुउपयोग, व्यावसायिक शिक्षा, वन जडिबुटी, उद्योग, पर्यटन, सूचना प्रविधि र स्वरोजगारमूलक कार्यक्रमलाई प्राथमिकतामा राखिएका छन् । औद्योगिक क्षेत्रमा सन्तोषजनक रहेको बजेट कार्यान्यवय गर्नसके उद्योग, व्यवसाय तथा वाणिज्य क्षेत्रमा राम्रै परिवर्तन हुने बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी नारायण चौधरी बताउँछन् ।  

 


प्रदेश सरकारले पहिलो पटक सार्वजनिक गरेको बजेटले सबै क्षेत्रलाई खुसी पार्न नसके पनि विनियोजित बजेट कार्यान्वयन भए मात्रै पनि धेरैलाई राहत मिल्ने छ । 

 

प्रदेश ७ को बजेटलाई लिएर आएका प्रतिकृयालाई समेटेर तयार पारिएको रिपोर्ट सुन्न यो लिंकमा क्लिक गर्नुहोस् ...
 

https://soundcloud.com/nb-media-network-kanchanpur/budget-report-state-no-7-03-02-nb-media-networkmp3

<