साहित्य

बाल कथा : फुच्चे घर छाड्दैन ।। (माधव ‘सयपत्री’)

व्यञ्जना र अनुराग दिदीभाइ हुन् । उनीहरू घरबाट टाढा डेरामा बसेर पढ्छन् । गाउँमा हाइस्कुल नभएर त्यसो गर्नुपरेको हो ।

व्यञ्जना र अनुरागको घरमा एउटा फुच्चे बिरालो पनि थियो । उनीहरूको बाबा एउटा प्राथमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँलाई विद्यालयको काममा बरोबर सदरमुकाम र अन्य ठाउँमा गइरहनु पथ्र्यो । त्यसैले उनीहरूका आमा एक्लै पर्नुहुन्थ्यो घरमा कहिलकाहीँ । त्यही फुच्चे बिरालो मात्र अनुरागकी आमाको साथी हुन्थ्यो ।

फुच्चे धेरैजसो अँगेनाको छेउमा बस्थ्यो । हुन त बिरालोको जातै चुलो रूङनेजस्तो हुन्छ । गर्मी मौसममा पनि आगोको राप छोड्दैन । साँच्चै बिरालोलाई त गर्मी पनि हुँदैन क्यारे !

व्यन्जना र अनुराग शुक्रबारको पढाइ सकेर साँझमा घर आइपुगेका थिए । फुच्चे धेरै खुसी भएको थियो । शुक्रबारको रात ऊ अनुरागसँग सुतेको थियो । नत्र, अरू रात एक्लै सुत्थ्यो फुच्चे । निदाउनै नपाई ‘घुरघुर’ गर्ने हुनाले आमालाई दिक्क लाग्थ्यो । सुत्नै दिँदैनथ्यो घुरेर । त्यसैले पनि आमाले फुच्चेलाई अर्कै कोठामा थुनेर ढोका लगाइदिनुहुन्थ्यो । ऊ डराई-डराई एक्लै सुत्थ्यो ।

शनिबार दिउँसोसम्म फुच्चे व्यञ्जना र अनुरागसँग लुटुपुटु गरी खेलेर बस्यो । उनीहरू जता जान्छन्, उतै गयो । घाँस काट्न गए पनि सँगै । मकैबारीमा बाँदर रूङ्न गए पनि सँगै । पानी लिन गए पनि, पत्कर सोहार्न गए पनि सँगै । एकछिन छोडेन फुच्चेले दिदीभाइलाई । व्यञ्जना त फुच्चेलाई अर्को सानो भाइजस्तो गर्थी । अनुराग पनि आफ्नै भाइलाई जस्तै माया गर्थ्यो ।

शनिबार बेलुकाखेरी व्यञ्जना र अनुराग एक हप्ताको लागि सामलतुमल बोकेर विद्यालय जान तयार भए । फुच्चे भित्रभित्रै रोयो । उसले मनमनै सोच्यो- ‘अब सात दिनसम्म कसरी एक्लै सुत्ने होला । दुष्ट बन ढाडे बिरालो आइरहन्छ । त्यसले मलाई खान पनि बेर लाउँदैन ।’

फुच्चे बिरालोले धेरै पीर गर्‍यो । आँखामा टिलपिल आँसु निकाल्यो । अनुराग र व्याञ्जना घरबाट हिँडे । ऊ परसम्म पुर्‍याउन आयो । छुट्ने बेलामा व्यञ्जनाले भनी-“फुच्चे ! तँ राम्ररी बस् है । हामी अर्को शुक्रबार त आइहाल्छौँ नि । पीर नगरी बस् ल । ढाडे बिरालोबाट जोगिनु नि ।”

अनुरागले फुच्चेलाई सुम्सुम्यायो र छाडिदियो । अनुराग र व्यञ्जना झोला बोकेर ओरालो लागे । बस भेटिने ठाउँसम्म पुग्न दुई घण्टा लाग्थ्यो । बस चढेपछि आधा घण्टामा उनीहरूको डेरामा पुगिन्थ्यो । फुच्चेलाई छोड्नु पर्दा उनीहरूको मन अमिलो भयो । फुच्चेले उनीहरूलाई देखुञ्जेलसम्म हेरिरहृयो ।

व्यञ्जना र अनुराग तलको डिल काटेर जङ्गलको बाटोमा पुगे । अब फुच्चेले उनीहरूलाई देखेन । मन कुडाउँदै फुच्चे घर फर्कियो । अर्को हप्ताको शुक्रबारको प्रतीक्षामा बस्यो फुच्चे ।

आइतबार भयो, सोमबार भयो । फुच्चे शुक्रबार आउने दिन गन्न थाल्यो- ‘आज मङ्गलबार, बुधबार, बिहीबार, शुक्रबार अब चारै दिन त हो नि । चार दिनपछि त आइहाल्छन् नि किन पीर गर्नु ?’

फुच्चेलाई वन ढाडेको ठूलो डर थियो । मध्यरातमा कता-कताबाट ‘ङ्याउँ-ङ्याउँ’ गरेको सुनिन्थ्यो । त्यतिबेला फुच्चे खाटमुनि लुकेर बस्थ्यो । वन ढाडे कोठाभरि फुच्चेलाई खोज्थ्यो, तर भेट्दैनथ्यो । व्यञ्जना र अनुरागकी आमाको कोठामा जाउँ भने ढोका बन्द गरेको हुन्थ्यो ।

एक हप्ता बित्न पो कति समय लाग्छ र ! शुक्रबार त आइहाल्यो । बिहानैदेखि फुच्चे अति खुसी थियो । उफ्री-उफ्री नाच्थ्यो । पर बारीको डिलमा गएर साथीहरू आउने बाटो हेथ्र्यो । घर फर्किन्थ्यो ।उता जान्थ्यो । यता जान्थ्यो । आमाको फरियामा लुटुपुटु गर्थ्यो । आमा कहिले माया गर्नुहुन्थ्यो । झर्को लागेपछि गाली गर्नुहुन्थ्यो । कान समातेर पर पुर्‍याइदिनु हुन्थ्यो । तर पनि फुच्चेलाई आफ्नै आमाजस्तै लाग्थ्यो । फेरि लुटपुटिन पुग्थ्यो ।

शुक्रबार बेलुका चार बजेदेखि फुच्चेले व्यञ्जना र अनुरागको बाटो हेरिरहृयो । उसले घरपछाडिको चुच्चेढुङ्गो छाड्दै छाडेन । पाँच बज्यो । उनीहरू आएनन् । छ बज्यो, आएनन्, आकाशमा बादल भरिँदै आयो । हावा चल्न थाल्यो । गड्याङगुडुङ गर्न थाल्यो । फुच्चेलाई अनुराग र व्यञ्जनाको पीर लाग्न थाल्यो । ‘उनीहरूसँग छाता छ कि छैन ? पानी ओइरियो भने के गर्छन् होला ? कसरी घर आउँछन् ?’

मुखमा छाता च्यापेर ऊ तलतिर झर्‍यो । तल वनको छेउमा पुग्यो । हेर्‍यो, कतै देखेन । हावा बेजोडसित चल्न थाल्यो । ठूला-ठूला थोपा पानी पर्न थाल्यो । असिना आउन पनि के बेर ! वैशाख-जेठको समय । असिना पर्ने त समय नै हो नि । फुच्चेले मुखमा एउटा छाता मात्र च्यापेको थियो । दुईटा च्याप्न सक्दैनथ्यो ।

फुच्चे डाँडैडाँडा, जङ्गलैजङ्गल तल बेँसीमा पुग्यो । हेर्‍यो-कतै देखेन । एकछिन गम खाएर बस्यो । हावाहुरी र मुसलधारे पानी पर्न सुरू भयो । फुच्चे त्यहाँ बस्न सकेन । एउटा धन्सारतिर लाग्यो । फुत्त ट्वाकलमा चढ्यो । हावाहुरी पानी छल्यो । तर उसका साथी आएनन् । हावाहुरी र पानी अलि मत्थर भयो । ऊ ट्वाकलबाट तल झर्‍यो । अँध्यारो-अँध्यारो भइसकेको थियो । मान्छे ठम्याउन पनि गाह्रो-गाह्रो भइसकेको थियो । फुच्चे धेरै डरायो । घर फर्किनलाई जङ्गलको बाटो, कसरी उकालो लाग्ने ? बाघको बिगबिगी थियो ।

व्यञ्जना र अनुराग नआएपछि ऊ रुँदै धन्सारकै परालमा घुसि्रयो । खानलाई केही थिएन । धन्सारको मुनितिर एकहल गोरु थिए । साँझमै घन्सारधनी, गोरुलाई पराल हालेर गाउँ उक्लिइसकेको थियो ।

<