साहित्य

पौराणिक बाल कथा : ब्राह्मण र सर्प ।। (उमाशङ्कर द्विवेदी)

कुनै नगरमा हरिदत्त नाम गरेका एकजना ब्राह्मण बस्दथे । उनीसित खेती गर्न योग्य खेत पनि थियो तर खेतीमा उनी जति परिश्रम र दु:ख गरेर काम गर्दा पनि राम्रो आमदानी हुँदैनथ्यो । गर्मी महिनामा एक दिन उनी खेतमा धेरै परिश्रम गरेको हुनाले थकाइ मार्नका लागि खेतको आलीमा रहेको एउटा विशाल वृक्षको छायामा पल्टेर सुस्ताउँदै थिए । सुस्ताउँदा–सुस्ताउँदै उनले नजिकैको आलीमा रहेको एउटा दूलोबाट निस्केर भयड्ढर कालो सर्प आफ्नो विशाल फण फैलाएर बसिरहेको देखे । त्यस सर्पलाई देखेर उनी मनमनै सोच्न थाले–यही नागराज मेरो खेतको रक्षक रहेछन् र मैले आजसम्म यिनको कहिल्येै पनि पूजा गरेको छैन त्यसै कारणले खेतीको काममा मैले जति पनि दु:ख र परिश्रम गर्दा यथेष्ट आम्दनी भएन । यसै कारणले मेरो परिश्रम खेर जान्छ । अत: मैले यी नागराजको पूजा अवश्य नै गर्नुपर्दछ । मनमा यस्तो कुरा विचार गरेर उनी गाउँमा गई कतैबाट दूध, लावा, अगरबत्ती, अक्षता तथा फूल, अबीर ल्याएर सर्पको दुलोको मुखमा विधिवत् पूजा गरी एउटा कचौरामा दूध लावा चढाएर विनित भई हाथ जोडेर प्रार्थना गर्न थाले–हे क्षेत्रपाल, नाग देउता, तपाईं मेरै खेतमा वास गर्नुहुन्छ भन्ने कुरा आजसम्म मलाई थाहा थिएन । त्यसै कारण मैले आजसम्म तपाईंको पूजा कहिल्यै पनि गरेको थिइनँ र खेतीको काममा जति परिश्रम र दु:ख गर्दा पनि यथेष्ट आम्दनी पाउन सकेको थिइनँ । मेरो यस अपराधलाई क्षमा गरेर ममाथि प्रसन्न हुनुहोस् । यति भनेर कचौराको दूध–लावा त्यहीं दुलोको मुखमा राखेर घर फर्किए ।

अर्को दिन एका बिहानै ब्राह्मणले खेतमा गएर हेर्दा दूध र लावा राखेको कचौरामा दुध लावा रित्तिएको तथा त्यसमा सुनको एउटा अशर्फी रहेको पाए । अशर्फी कचौराबाट लिएर उनी घर फर्किए । एवं प्रकारले उनी दिनहुँ दूध–लावा सर्पको दुलोको मुखमा राखिदिन्थे र अर्को दिन कचौरा रित्तिएको हुन्थ्यो तथा त्यसमा रहेको सुनको अशर्फी टिपेर घर फर्किन्थे । यस प्रकार ब्राह्मणको खेतमा राम्रो उब्जनी न भएपनि नागराजाको कृपाले प्राप्त सुनको अशर्फीले उनी सुखी तथा समृद्धशाली हँुदै गइरहेका थिए । उखान छ–सित्तैमा पाएपछि मान्छेको काम गर्ने जाँगर मर्छ । ब्राह्मण पनि नागराजको पूजा आफ्नो जेठो पुत्रलाई सुम्पेर एक दिन कुनै काम विशेषले अन्यत्रै गए । ब्राह्मणको पुत्र दूध–लावा कचौरामा लिई दूलोको मुखमा राखेर घर फक्र्यो । बाबुको दिनचर्याको सिको अनुसार ऊ पनि एका बिहानै खेतमा गएर हेर्दा कचौरा रित्तिएको तथा त्यसमा सुनको एउटा अशर्फी रहेको पायो । त्यसले अशर्फी टिप्यो तथा मनमा विचार गर्‍यो– हरे, यस दूलो भित्र सुन र हीराको खानी पो रहेछ तर यस भित्र भयड्ढर कालो सर्पको वास छ । अब के हुन्छ भनेर चियो बस्दा सर्प दुलोबाट बाहिर निस्की दूध र लावा तृप्तिपूर्वक खाएर कचौरामा सुनको एउटा अशर्फी राखी पुन: दुलोभित्र छिर्‍यो ।

यो देखेर ब्राह्मण पुत्रले मनमनै विचार गर्न थाल्यो–बल्ल कुरा बुझियो, सम्पत्ति त जम्मै मेरो खेत भित्र नै छ तर यस खेतमा त्यस सम्पत्ति माथि एउटा दुष्ट सर्प बस्दो रहेछ । यो दुलो खनेर सर्पलाइ मारी त्यो जम्मै धन लिनुपर्छ । ब्राह्मणको छोराले यस्तो विचार गरेर ज्यामीहरूलाई बोलाई सर्पको दुलो खन्न लगायो । दूध–लावा खान भनी जब सर्प दुलो बाहिर निस्कियो, ब्राह्मणको छोराले लट्ठीले उसको टाउकोमाथि जोडले हिर्कायो । त्यस प्रहारलाई येनकेनप्रकारेण छलेर सर्पले आफ्नो ज्यान जोगायो तर ब्राह्मणको छोराको यस अप्रत्याशित हमलाको प्रत्युत्तरमा भयड्ढर रूपले डँसेर उसको प्राणको अन्त्य गरिदियो । नागराजको डँसाइको उग्र विषका कारण ब्राह्मणपुत्र तत्काल मर्‍यो । उनका दु:खी स्वजनहरूले त्यसै खेतमा उसको चिता बनाएर दाह संस्कार गरिदिए ।

अर्को दिन ब्राह्मण घर फर्कंदा आफ्नो छोराको निधनको सही वृत्तान्त सुनेर पुत्रशोकले सार्‍है दु:खित भए । सर्प दूध–लावा खान दुलोबाट बाहिर निस्कन लागेको बेला छोराले कपटपूर्ण तवरले लठी हिर्काएर नागराजालाई क्रोधित बनाएको तथा क्रोधले अभिभूत भई छोरालाई डँसेको कुरा थाहा पाई नागराजामाथि रिसाउनुको साटो उनले नागराजले छोरालाई डँसेको कृत्यको औचित्यको समर्थन गर्दै निम्न श्लोक पढे–भूतान यो नानुगृह्णाति हयत्मन: शरणागतान् ।भूतार्थास्तस्य नश्यन्ति (अर्थात् शरणागत आएका जीवहरूलाई जसले रक्षा गर्दैन, उसको हाथबाट वैभव छुट्छ ) । यति श्लोक विचार गरेर अर्को दिन बिहानै ब्राह्मणले फेरि पूजा सामग्री तथा दूध–लावा लिएर सर्पको दुलोनिर गई सर्पको पूजन–अर्चन गरेर दूध–लावा चढाई स्तुति गर्न थाले । ब्राह्मणको स्तुति सुनेर सर्प धेरैबेरसम्म न सुनेझैं गरेर दुलोभित्रै बसिरह्यो ।

धेरै बेरका मौन पछि सर्पले दुलो भित्रबाटै भन्यो– पुत्रशोकलाई बिर्सेर तिमी यहाँ लोभको कारण आएका रहेछौ । यस पछि अब तिम्रो र मेरो मित्रता उचित हुने छैन । यौवनको मदमा लठ्ठिएर तिम्रो छोराले मेरो टाउकोमाथि लठ्ठीले हानिदियो र मैले क्रोधमा आएर त्यसलाई डसेर मारिदिएँ । तिमी अब–

चितिकां दीपितां पश्य फटां भग्नां ममैव च ।
भिन्नश्लिष्टा तु या प्रीतिर्न सा स्नेहेन वर्धते ।।

यो जलिरहेको चितालाई हेर र मेरो क्षतविक्षत फणलाई हेर । एक चोटि चुँडिएपछि मित्रता, स्नेह प्रदर्शित गर्दा कहिल्यै पनि जोडिन सक्दैन) । मैले लठ्ठीको त्यो प्रहार कसरी बिर्सिन सक्छु ? तथा तिमीले पनि पुत्रशोक कसरी बिर्सन सक्छौ ? अत: तिम्रो र मेरो मित्रता अब सम्भव छैन । यति भनेर सर्पले ब्राह्मणलाई एउटा बहुमूल्य हीरक मणि (हीरा) दिंदै फेरि भन्यो–हाम्रो मित्रताको यो अन्तिम चिनो लिएर जाऊ तथा अब आइन्दा कहिल्यै पनि फर्केर नआउनू । यति भनेर सर्प दुलोभित्र पस्यो । ब्राह्मण पनि सर्पले दिएको त्यो हिरकमणि लिएर पुत्रको बुद्धिमाथि पश्चात्ताप गर्दै घर फर्के ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

<