खास खबर

कञ्चनपुरको बेलौरीमा रहेको श्री उग्रतारा बाल विद्यालय, शान्तिपुरद्वारा फुड फेस्टिभल आयोजना ।।

कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ४ शान्तिपुरमा अवस्थित श्री उग्रतारा बाल विद्यालयले शुक्रबार विद्यालयमा फुड फेस्टिभल आयोजना गरेको छ । कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुको फुड फेस्टिभलमा सदनात्मक प्रतियोगिता भएको थियो । विद्यालयले व्यवहारिक शिक्षालाई जोड दिने उदेश्यका साथ यो कार्यक्रम गरेको जनाएको छ । उक्त प्रतियोगितामा ४ वटा सदनहरु को ४ वटै स्टलहरु रहेका थिए ।

 

आआफ्नै स्टलहरुबाट विद्यार्थीहरुले तयार गरेको खानाका परिकारहरु बिक्री गरेका छन् । कार्यक्रममा विद्यार्थीहरुले सेल रोटी, खिर, पानीपुरी, मःमः, अचार, चाउमिन, ढीक्री, पकौडा, आलु ब्रेड, आलु परोठा, चिया, कफि लगायतका खानेकुराहरु बनाएका थिए ।

कार्यक्रममा विद्यालयका अभिभावकहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । अभिभावकहरुले आफ्ना नानिबाबुहरुले बनाएका खानाका परिकार देखी खुशी भएका थिए । सबै सदनहरुबाट करिब १० हजार बरावरको खाद्य परिकारको बिक्री गरी विद्यार्थीहरुले आय गरेका छन् । पेशा व्यावसाय तथा प्रविधि शिक्षा अन्र्तगत विद्यार्थीहरुले सो कार्यक्रम आयोजना गरेका हुन् ।

 

वर्तमान समयमा आवश्यक, प्रयोगात्मक शिक्षा दिने उद्देश्यका साथ विद्यालयले सो कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रिन्सिपल केशब सिह बिष्टले जानकारी दिनुभयो । विद्यार्थीहरुले कक्षामा सिकेको कुरालाई प्रयोगमा ल्याउदा आफु निकै प्रभावित भएको विद्यालयका अभिभावक लक्ष्मी नारायण दहालले बताउनु भयो । विद्यार्थीहरुलाई कार्य गर्न उत्प्रेरित गरे उत्कृष्ट कार्य गरेर देखाउन सक्ने यो राम्रो उदाहरण भएको अर्का अभिभावक लक्ष्मण खरेलले प्रतिकृया दिनुभयो ।

कञ्चनपुरका जिल्ला शिक्षा विकास समन्वय ईकाईका प्रमुख दुर्गा दत्त बिष्टले पनि विद्यालयले युग सुहाउदो, व्यवहारिक शिक्षामा जोड दिएकोमा निकै खुशी लागेको बताउनु भयो । उहाले विद्यार्थीहरुको कार्यक्रम व्यवस्थापन, खानाका परिकारहरुको उत्पादन निकै उत्कृष्ट रहेको पनि उल्लेख गर्नुभयो ।  

 

विद्यालयले आगामी दिनहरुमा पनि यस्ता व्यवहारिक शिक्षालाई जोड दिने खालका कार्यक्रमहरुलाई जोड दिने योजना रहेको विद्यालयका प्रिन्सिपल केशब सिह बिष्टले बताउनु भयो ।

<