अर्थ-वाणिज्य

बेलौरीमा जारी प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेलाको तेस्रो दिन ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरीमा बिहीबारबाट सुरु भएको प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेलाको तेस्रो दिन शनिबार पनि भव्यताका साथ सञ्चालन गरिने आयोजकले जनाएको छ ।  “कृषि, पर्यटन, उद्योग र व्यापार ः समृद्ध बेलौरीको आधार” भन्ने मूल नारा सहित बेलौरी उद्योग वाणिज्य संघको आयोजना र बेलौरी नगरपालिकाको सह–आयोजनामा बिहिबार देखि १० दिनसम्मका लागि महोत्सव सञ्चालन गरिएको बताइएको छ । 

 

महोत्सवमा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागिता रहने बताइएको छ । शनिबार तेस्रो दिन राष्ट्रिय कलाकार ज्योति मगर, राज कुश्मी, अञ्जु कुश्मी, नारायण राना, मनिशा राना, बविता बानिया, खिमा रोका मगर संगै इन्द्रेणी ग्रुप लगायत चर्चित हास्य कलाकार तिर्थराज जोशी र स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने प्रचारप्रसार समितिका संयोजक यज्ञ प्रसाद कँडेलले दाबी गर्नुभयो ।

 

बेलौरी–खजुरीया भन्सार नाका स्तरोन्नति, दोंदा नदि कटान व्यवस्थापन, कलुवापुर–बेलौरी सडगखण्ड तथा डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी हुलाकी सडगखण्ड शीघ्र निर्माणका लागि सरकारलाई दबाब दिने र यस क्षेत्रको कला, संस्कृति, भेषभूषा तथा प्राकृतिक सम्पदाहरुको प्रचारप्रसार गरी पर्यटन विकासमा टेवा पुगाउने र औद्योगिक एवं व्यापारिक प्रबर्धनका लागि कञ्चनपुरको बेलौरीमा महोत्सवको आयोजना गरिएको हो । 
महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, व्यापार प्रबर्द्धन, मत्स्य विकास, धार्मिक एवं प्राकृतिक सम्पदाको प्रचारप्रसार तथा प्रबर्द्धन मुख्य आकर्षणको रूपमा रहेको बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी नारायण चौधरीले बताउनु भयो । महोत्सवमा एक सय पचास स्टल राखिएका छन् । 

 

शुक्रबार देखि प्रवेशका लागि विद्यार्थीहरुलाई रु. ३० र अन्यलाई रु. ५० शुल्क लाग्ने आयोजकले जनाएको छ । महोत्सव अवधिभर प्रति टिकट रु. १ का दरले प्रत्येक टिकटबाट संकलित रकम सर्प दंश उपचार केन्द्र स्थापनाका लागि विनियोजन गरिने आयोजक बेलौरी उद्योग बाणिज्य संघले जनाएको छ ।

 

 

  • कञ्चनपुरको बेलौरीलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख व्यापारिक नाका बनाउन कटिबद्ध छु ः  मन्त्री बिना मगर ।।

 

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं खानेपानी मन्त्री बिना मगरले बेलौरीलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख व्यापारिक नाका बनाउन कटिबद्ध रहेको उल्लेख गर्नुभएको छ । बेलौरी उद्योग वाणिज्य संघको आयोजना र बेलौरी नगरपालिकाको सह–आयोजनामा बिहिबार देखि सञ्चालन भएको प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।


मन्त्री बिना मगरले कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको विकासका लागि स्थानीय, प्रदेश र प्रतिनिधि सभाका  जनप्रतिनिधिहरुसँग छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । त्यस्तै उहाँले सबै नागरीकलाई स्वच्छ खानेपानीमा सहज पहुँच हुने गरी काम गर्ने बचन दिनुभयो ।


समारोहमा पूर्व सहायक मन्त्री लाल बहादुर विश्वकर्मा, पूर्व सभाषद् टेकेन्द्र भट्ट, प्रदेश सभा सदस्य कुलबीर चौधरी, बेलौरी, पुनर्वास, बेलडाँडी र लालझाडीका प्रमुख एवं अन्य निर्वाचित जनप्रतिनिधिहरु, व्यवसायी र विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, समाजसेवी, बुद्धिजीविहरुले सम्बोधन गर्दै जिल्लाको दक्षिणी क्षेत्रको पर्यटकीय लगायत समग्र विकासमा जोड दिनुभएको छ । 

<