ताजा खबर

खास खबर

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कांग्रेशले गरेको तालाबन्दी प्रति नेकपाद्वारा खेद प्रकट ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, १ असोज ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका कार्यालयमा नेपाली कांग्रेशले गरेको तालाबन्दी प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले खेद प्रकट गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बेलडाँडीको सोमबार बसेको बैठकले नेपाली कांग्रेशले अनावश्यक कुप्रचार गरी जनतालाई भ्रमित पार्ने गरी सार्वजनिक विदाका दिनमा समेत बेलडाँडी गाउँपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको कार्यप्रति खेद प्रकट गरेको हो । नेकपाका नेता अक्कल बिष्टले बेलडाँडी गाउँपालिकाले कुनै किसिमको पनि अनियमितता गरेको नदेखिएको र गाउँपालिकाले पारित गरेका नीति तथा कार्यक्रममा नेपाली कांग्रेशले पनि समर्थन जनाएको भन्दै तिनै नीति तथा कार्यक्रम कार्यान्वयनमा जनप्रतिनिधिहरु लागिरहेका बेला जनतालाई भ्रमित पार्न विरोधका लागि विरोध गर्दै कांग्रेशले तालाबन्दी गरेको आरोप लगाउनु भयो ।


बेलडाँडी गाउँपालिकामा नीति तथा कार्यक्रम कार्यान्वयनमा पक्षपात गरेको र अनियमितता एवं भ्रष्टाचार भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेशले आइतबार तालाबन्दी गरेको थियो । गाउँपालिकाले पारित गरेका नीति तथा कार्यक्रम कार्यान्वयनमा पारदर्शी नभएको, पक्षपात पुर्ण भएको, शिक्षा, स्वास्थ्य जस्ता जनताको प्रत्यक्ष सरोकारका विषयमा स्थानीय सरकार संवेदनशील नभएको र कर वृद्धि लगायतका सवालमा निर्णय नसच्याएको भन्दै माग पूरा नभए सम्मका लागि अनिश्चितकालीन तालाबन्दी गरेको नेपाली कांग्रेश कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यायले बताउनु भएको छ ।
 

<