दृष्टिकोण

निर्मला हत्याकाण्ड : उच्चस्तरीय न्यायिक छानबिन होस् : सांसद डा. भट्ट

सार्वजनिक विज्ञप्ती !


कञ्चनपुर जिल्लाको भीमदत्तनगरपालिका वडा नं. २ निवासी अबोध नाबालक निर्मला पन्तको अमानवीय र पाशविक ढंगले बलात्कार  पछि हत्या भएको घटनाको जति निन्दा गरेपनि कम हुन्छ । यो घटनाको पीडाबोधले छटपटिएको बेला बालिका निर्मलाको हत्यापछि विकसित भएका घटनाहरुले झनै पीडा थपेको छ । 

 


बालिका निर्मलाको हत्या भएलगत्तै व्यवस्थापिका संसदमा हत्याराको खोजी गरी कार्वाही गर्न सरकारको ध्यानाकर्षणका साथै माननीय गृहमन्त्रीसमक्ष समेत घटनालाई संवेदनशीलरुपमा लिएर उचित कदम चाल्न माग गरिएको स्मरण गराउन चाहन्छु । यद्यपी सरकारका तर्फबाट घटनालाई पर्याप्त संवेदनशीलताका साथ नलिएको कारण अहिले कञ्चनपुर जिल्लामा अनपेक्षित घटनाक्रमको विकास भएको छ । आन्दोलनलाई सरकार र प्रशासनविरुद्ध उचाल्न कोशिस भएसँगै सुरक्षाकर्मीको गोली लागि एक जनाले ज्यान गुमाउनु परेको छ र १५ जना भन्दा बढी घाइते भएका छन ।

 

यो दुखद घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली तथा शोकसंन्तप्त परिवार तथा आफन्तजनहरुमा धैर्यधारणका लागि र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु । साथै मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र घाइतेहरुको उपचारको सम्पूर्ण जिम्मेवारी लिन सरकारलाई अनुरोध गर्दछु ।

 

 

गृह मन्त्रालय र स्थानीय प्रशासनले हामीले बारम्बार माग गरे अनुरुप घटनामा संवेदनशीलता अपनाएर अनुसन्धानलाई सही किसिमले अघि बढाएको भए यो अवस्था आउने थिएन । अहिले पनि यो स्थितिलाई गम्भीरतापूर्वक लिन सकिएन र सुरक्षा संयन्त्रलाई आन्तरिक कमाण्ड मजबूत पारेर परिचालन गर्न सकिएन भने दुखद घटना पुनरावृत्ति हुने सम्भावना जीवितै रहेको छ । त्यसैले हत्याराको खोजी गर्न उच्चस्तरीय न्यायिक छानबीन समितिको गठन गर्न सरकार समक्ष माग गर्दछु । 

 


आम जनताले बलात्कारीलाई सजाय भएको देख्न चाहेका छन्, शान्ति सुरक्षा र महिलाविरुद्धको हिंसाको अन्त्य भएको स्थिति खोजेका छन्, त्यसैले प्रहरी प्रशासनको प्रतिवेदनमाथि उनीहरुले आशंका व्यक्त गरेर आन्दोलनमा उत्रेका छन् ।

 

आन्दोलनलाई कतिपय तत्वहरुले गलतरुपमा प्रयोग गर्न खोजेपनि मूलरुपमा आन्दोलनको स्पिरिट बलात्कारीका वास्तविक दोषीहरु उम्किन नपाउन भन्ने भएकोले म शान्तिपूर्ण आन्दोलनमा आफ्नो तर्फबाट र आफ्नो स्थानबाट खेल्ने भूमिकाबाट पछि नहटने प्रतिबद्धता व्यक्त गर्दछु । साथै आन्दोलनलाई हिंंसात्मक नबनाउन, गलत तत्वहरुले उपयोग गर्ने अवस्थाबाट जोगाउन समेत सबै आम कञ्चनपुरवासीलाई हार्दिक अनुरोध गर्दछु । 

 


निर्मला पन्तका वास्तविक हत्याराहरुले सजाय पाउनुपर्छ, यसका लागि सरकारले जुनसुकै संयन्त्र र कदम चाल्न मांग गर्दछु । यो विषयलाई विगत झैं उपेक्षा गरिएमा सामाजिक सदभाव खल्बलिने र आम जनतामा सरकारप्रति नै नकारात्मक धारणाको विकास हुनेतर्फ विशेषरुपमा सचेत हुन समेत आग्रह गर्दछु । 

डा. दीपक प्रकाश भट्ट
प्रतिनिधि सभा सदस्य
क्षेत्र नं. ३, कञ्चनपुर

<