स्वास्थ्य

बेलौरीका किशोरीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आइरन र फोलिक एसिड वितरण गरिदै ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
किशोरीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कञ्चनपुरको बेलौरी नगरपालिका स्वास्थ्य शाखाले किशोरीहरुलाई आइरन र फोलिक एसिड वितरण गरिरहेको छ । पोषण शिक्षा मार्फत किशोरीहरुमा आइरन युक्त खानाको सेवन गर्ने व्यवहारमा सुधार गर्ने र आइरनको कमीले हुने रक्त अल्पताको नियन्त्रण गरी पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिरहेको बेलौरी नगरपालिका स्वास्थ्य शाखाका संयोजक मान बहादुर चन्दले बताउनु भयो ।

 

विद्यालय जाने जम्मा ५३०२ जना किशोरीहरुलाई बेलौरी नगरपालिका भित्र रहेका आधारभूत र मावि तहका सम्बन्धित विद्यालयहरुमा र विद्यालय नजाने जम्मा १०६६ जना किशोरीहरुलाई सम्बन्धित क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविका मार्फत आइरन र फोलिक एसिड खुवाउने गरिएको स्वास्थ्य शाखाका संयोजक चन्दले जानकारी दिनुभयो । जसका लागि नगरपालिका भित्र रहेका सम्बन्धित विद्यालयहरुमा र नगरभित्रका महिला स्वास्थ्य स्वयंसेविका मध्ये प्रत्येक वडाबाट चार जनाका दरले ४० जनालाई तालिम समेत दिइएको उहाँले बताउनु भयो । त्यसमा छुट्न गएका किशोरीहरुलाई नजिकको स्वास्थ्य संस्थामार्फत वितरण गर्ने गरिएको छ । 

 

 

पहिलो चरणमा साउन, भदौ र असोज महिना गरी ३ महिनाका १३ हप्तामा खुवाउने र कार्तिक, मंसिर र पुस महिनाका १३ हप्तामा नखुवाउने, त्यसै गरी दोस्रो चरणमा पनि सोही बमोजिम माघ, फाल्गुन र चैत्रमा खुवाइसकेपछि बैशाख, जेठ र असार महिनामा खुवाउनु नपर्ने हुन्छ । सम्बन्धित महिनामा प्रत्येक हप्ताको एक पटक ६० मिलिग्राम आइरन र ४०० मिलिग्राम फोलिक एसिड वितरण गरिरहेको बताइएको छ । 

 

 

उक्त कार्यमा गैरसरकारी संस्था सुआहारा, नगरभित्रका विद्यालयहरु, स्वास्थ्य संस्थाहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु र स्थानीय जनप्रतिनिधिहरुले महत्वपूर्ण सहयोग गरिरहेका छन् । अहिलेपनि नेपालमा ३९ प्रतिशत किशोरीहरुमा रक्तअल्पताको समस्या रहेको एक अध्ययनले देखाएको छ । सोही समस्यालाई न्युनीकरण गर्न र पोषणमा सुधार ल्याउन उक्त अभियान सञ्चालन गरेको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताउनु भयो । नगरभित्रका सबै किशोरीहरुलाई उक्त अभियानमा सहभागी भई तोकिएको समयमा आइरन र फोलिक एसिड सेवन गरी स्वस्थ रहन बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीले सबैलाई आह्वान गर्नुभयो ।
 

<