मनोरञ्जन

लाखे नृत्य संरक्षण गर्न पुनर्वासमा प्रशिक्षण, संस्कृति जगेर्ना गर्न जुट्यो नेवार समुदाय ।।

हेमन्त न्यौपाने, कञ्चनपुर ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाका नेवार समुदायले लोपोन्मुख लाखे नाचको संरक्षण गर्न ७ दिने नृत्य प्रशिक्षण सुरु गरेको छ । शनिबार नेवाः देय दवु र कञ्चन नेवाः समाजको आयोजनामा पुनर्वासको त्रिभुवनबस्ती सभाहलमा कार्यक्रमको उद्घाटन गरिएको छ ।

 

पछिल्लो समय देशभर नै नेवार संस्कृतिको लाखे नाच लोपोन्मुख बन्दै गएको छ । नयाँ पुस्ताले चासो नदिँदा लाखे नाच्ने व्यक्ति पनि अभाव हुँदै गएको नेवार समुदायका अगुवा तथा लाखे नृत्यकार कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले लाखे नृत्यको जगेर्ना गर्न प्रशिक्षण दिन लागिएको जानकारी गराउनुभयो । 

 

शनिबार सम्पन्न उद्घाटन कार्यक्रमको सभापतिमा कञ्चन नेवाः समाजका अध्यक्ष हरिनारायण श्रेष्ठ रहनुभएको थियोभने पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा प्रमुख अतिथिमा हुनुहुन्थ्यो । कार्यक्रमको बिशिस्ट अतिथिमा नेवाः देय दवु प्रदेश नम्बर ७ का उपाध्यक्ष एककुमार श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष मन बहादुर गुरुङ, प्रतिभा नगर बजार व्यवस्थापन समितिका अध्यक्ष अमीत रोकाया, बुद्धिजीवी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । 

 

लाखे नाचका नृत्यकार तथा प्रशिक्षक कृष्ण प्रसाद श्रेष्ठ हुनुहुन्छ । भने वाद्यवादनमा ढोलकी तेज बहादुर श्रेष्ठ र मजुरामा किरन प्रधान हुनुहुन्छ । कार्यक्रम १३ गते देखि प्रत्येक दिन बेलुका १८ गते सम्म सञ्चालन हुने आयोजक टिमका सदस्य भिम कुमार श्रेष्ठले बताउनुभयो । 

केही दशक अघि सम्म हरेक बर्ष नागपञ्चमीदेखि कृष्णअष्टमी, तिजको ऋषिपञ्चमी तथा विशेष कार्यक्रममा लाखे नाच देख्न पाईन्थ्यो । भने पछिल्लो समय लाखे नाच लोप जस्तै बनेको छ ।  लाखे नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरालगायतका वाद्यवादनको प्रयोग गरिन्छ । 

 

भूतप्रेत नलागोस् र मरेको आत्माले दुस्ख नदेओस् भनेर यो नाच रातिमा देखाइने गरेको नेवार समुदायका अगुवा बताउँछन् । टाउकामा राक्षसको खप्पर लगाएर कालिकाको फरिया, ब्लाउजमा सजिएको व्यक्तिलाई स्याउलाको लुगा, बाँदरको खप्पर र बोराको पुच्चर बनाएको बुच्चाले जिस्क्याउँदै र लात्तीले हान्दै नाचिने यो नाच हेर्नसमेत निकै रोमाञ्चक हुने गर्दछ ।

<