स्वास्थ्य

बेल्डाँडी गाउँपालिका वडा नम्बर ४ प्रदेश नम्बर ७ कै पहिलो पूर्ण पोषण युक्त वडा घोषणा ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, ३२ असार । 
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नम्बर ४ प्रदेश नम्बर ७ कै पहिलो पूर्ण पोषण युक्त वडा घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै ४ नम्बर वडालाई पूर्ण पोषण युक्त वडा घोषणा गरिएको बेल्डाँडी गाउँपालिकाले जनाएको छ । झण्डै दुई दर्जन सूचकहरु पूरा गरी उक्त वडालाई पूर्ण पोषण युक्त वडा घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीका प्रमुख सल्लाहकार कृष्ण कुमार रोकायाले बताउनु भयो ।  

 

कार्यक्रमलाई सम्बोधन गर्दै बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले ७ नम्बर प्रदेश मै पहिलो पटक बेल्डाँडी गाउँपालिका वडा नम्बर ४ लाई पूर्ण पोषण युक्त वडा घोषणा गर्न पाएकोमा गर्व लागेको उल्लेख गर्दै क्रमिक रुपमा आर्थिक वर्ष २०७५–०७६ भित्र बेल्डाँडी गाउँपालिकाका ५ वटै वडालाई पूर्ण पोषण युक्त वडा घोषणा गर्दै गाउँपालिकालाई पनि एक वर्षभित्र नै पूर्ण पोषण युक्त गाउँपालिका घोषणा गरिने प्रतिबद्दता जनाउनु भयो । उहाँले गाउँपालिकाका सबै नागरीकलाई स्वस्थ रहनका लागि आ–आफ्नो ठाउँबाट सबैले जागरुक हुनुपर्नेमा जोडदिनु भयो । 

यसअघि आइतबार मात्रै बेल्डाँडी गाउँपालिका कञ्चनपुरकै पहिलो संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको छ । बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्र र रौतेली विचवा स्वास्थ्य चौकीको सकृय पहलमा आइतबार पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्न बेल्डाँडी गाउँपालिका सफल भएको बेल्डाँडी गाउँपालिकाले जनाएको छ । यहाँका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधीको सकृयताले जनचेतनाको विकास भई घरमा सुत्केरी गराउने कार्य अन्त्य भएको बेल्डाँडीका स्वास्थ्यकर्मीहरुले जनाएका छन् । बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले बेल्डाँडी गाउँपालिकालाई स्वास्थ्यका हिसाबले बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । 

<