स्वास्थ्य

बेल्डाँडी गाउँपालिका कञ्चनपुरकै पहिलो संस्थागत सुत्केरी गाउँपालिका घोषणा ।।

विमल धामी, कञ्चनपुर, ३२ असार ।
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका कञ्चनपुरकै पहिलो संस्थागत सुत्केरी गाउँपालिका घोषण भएको छ । बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्र र रौतेली विचवा स्वास्थ्य चौकीको सकृय पहलमा आइतबार पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषण गर्न बेल्डाँडी गाउँपालिका सफल भएको बेल्डाँडी गाउँपालिकाले जनाएको छ ।

 

कञ्चनपुर सदरमुकाम देखि दक्षिण तर्फ झण्डै ३५ किलोमिटको दुरीमा रहेको यो गाउँपालिका बाटो घाटोको हिसाबले निकै विकट भएपनि यहाँका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधीको सकृयताले जनचेतनाको विकास भई घरमा सुत्केरी गराउने कार्य अन्त्य भएको बेल्डाँडीका स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले बेल्डाँडी गाउँपालिकालाई स्वास्थ्यका हिसाबले बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । स्वास्थ्य क्षेत्रमा काम गर्ने र बेल्डाँडीलाई पहिलो संस्थागत सुत्केरी गाउँपालिका घोषण गरेकोमा उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो ।

बेल्डाँडी गाउँपालिकाका उपाध्यक्ष कमला कार्कीले महिलाको काँधमा थप जिम्मेवारी आएकोले स्वयम्सेविकाले बढी चनाखो हुनुपर्नेमा जोड दिनुभयो । यस्तै बेल्डाँडी गाउँपालिका महिला शाखाका प्रमुख कमला जोशीले अब बेल्डाँडीका स्वास्थ्य स्वयमसेविकाको काँधमा बढी जिम्मेवारी आएकोले सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने बताउनु भयो ।

 

कार्यक्रममा रौतेली स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी तथा कार्यक्रमकी संचालक निलम भट्टले स्वास्थ्य सम्बन्धी जनचेतनामुलक गीतले मनोरञ्जन समेत दिनुभएको थियो । जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि गुड्डी नेपालीले बेल्डाँडी गाउँपालिका भित्र स्वास्थ्य संग जोडिएका सबै समस्याको बारेमा माथिल्लो निकायमा समस्या राख्ने र सामाधान खाज्ने प्रतिबद्धता जनाउनु भयो ।

 

 

बेल्डाँडी गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक महेश खत्रीले बेल्डाँडी गाउँपालिका ९० प्रतिशत भन्दा माथी स्वास्थ्य संस्थागत प्रसुती, ९० प्रतिशत भन्दा माथी गर्भवती जाँच र ९० प्रतिशत भन्दा माथी सुत्केरी जाँच एवम् नवजात शिशु जाँच भएकाले पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरेको बताउनु भयो ।

 

पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्नमा अतुलनीय योगदान गरेको भन्दै स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरुमा स्वास्थ्यकर्मी उषा बम, ईश्वरी धामी, रुपा खत्री, निलम भट्ट लगायत स्वास्थ्य स्वयम्सेविका सरस्वती शाही र रामकुमारी रानालाई समेत गाउँपालिकाले सम्मान गरेको हो ।

 

घोषण सभामा बेल्डाँडी गाउँपालिकाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बेल्डाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापाले अध्यक्षता गर्नुभएको थियो भने  प्रमुख अतिथिमा जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य गुड्डी नेपाली, विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष कमला कार्की रहनु भएको थियो । कार्यक्रमको सञ्चालन बेल्डाँडी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक डम्बर खत्री तथा रौतेली स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी निलम भट्टले गर्नुभएको थियो ।
 

<