दृष्टिकोण

‘खै पुरुषको अधिकार ?’ ६ मिनेट समय निकालेर अवश्य पढ्नुहोला ।।

नेपाललाई पुरुष प्रधान मुलुकको ट्याग लागेको छ । विश्वभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहँदा पुरुष प्रधान मुलुक भनिएको नेपालमा पनि तामझामका साथ यो अभियान मनाइन्छ । २४ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाइने अभियानमा महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाहरु निकै सकृय देखिन्छन् ।

 

 


१६ दिन मात्रै किन नहोस् यी संघसस्थाहरु एकदमै जागरुक भएर अभियानमा जुट्छन् । लैङ्गिक हिंसाविरूद्ध जनचेतनामूलक सडक नाटक, गोष्ठि, अभिमुखिकरण बडो फुर्तीका साथ हुन्छन् । लाग्छ अब नेपालमा लैङ्गिक हिंसाको अन्त्य हुँदैछ । संघसंस्थाको पहुँच पुग्ने सुविधा सम्पन्न स्थानमा अभियानले गति लिइरहँदा विकट गाउँवस्तीमा भने लैङ्गिक हिंसाका घटना तीनै १६ दिन भित्र दोहोरिरहेका थुप्रै उदाहरण छन् ।

 

 

‘महिलालाई सम्मान गरौँ, आदर्श पुरुष बनौँ, हिंसामुक्त नारी, प्रत्येक पुरुषको जिम्मेवारी, घरशान्ति नै विश्वशान्तिको आधार ः महिलाहिंसा विरुद्ध शून्य, सहिष्णुता कायम गरौँ’ भन्ने नाराका साथ गतवर्ष नेपालमा धुमधामका साथ लैङ्गिक हिंसाविरुद्धको अभियान मनाइयो ।

 

 

अभियानको अवसरमा ठाउँमा ठाउँमा माथि उल्लेख भएको नारा अंकित प्लेकार्ड झुण्ड्याइयो । महिला हिंसाविरुद्ध आवाज उठाउने भन्दै आधाकारिक रुपमै नेपालमा धेरै संघसस्था खोलिने क्रम अहिले पनि जारी छ । जसले सरकारी तथा गैरसरकारी संघसस्थाको हैसियतमा निरन्तर काम गरीरहेकै छन् ।

 

 

महिला हिंसा विरुद्ध आवाज अन्तर्राष्ट्रिय रुपमा एकत्रित हुँदै आइरहेको छ । सञ्चार माध्यमले पनि महिला हिंसासँग सम्बन्धीत समाचार समाग्रीलाई बढीनै प्राथमिकताका साथ दर्शक, स्रोत तथा पाठक माझ प्रस्तुत गर्ने गरेका छन् ।

 

 

आफुमाथी भएको हिंसा विरुद्ध विश्वव्यापी रुपमा महिलाहरु गोलवद्ध भइरहेको परिप्रेक्षमा वास्तविकता भने अलि भिन्दै छ । लैङ्गिक हिंसा तथा घरेलु हिंसाका कारण पिडित महिलाको सख्या बढीरहँदा त्यसको कारक अर्थात् पिडक पनि धेरै जसो महिलानै हुने गरेका छन् । जस्तै, सासुले बुहारीमाथी गर्ने हिंसा, बुहारीले सासुमाथी गर्ने हिंसा, नन्दले भाउजुमाथी अनि भाउजुले नन्दमाथी यो सँगै जेठानीले देउरानी र देउरानीले जेठानीमाथी गर्ने हिंसा किन नहोस् ।

 

 

यसरी राज्यले नै महिला हिंसाको विषयमा बढी प्राथमिकता दिइरहँदा हाम्रो समाजमा दिनानु दिन पुरुष उपर भइरहेको हिंसा भने थिचिएरै रहेका छन् । महिलामाथी हिंसा भयो, सुनिदिने थुप्रै निकाय छन् । मुलुक संघिय संचरनामा गएको छ । वस् महिलाले ‘म माथी हिंसा भएको छ’ भन्नु मात्रै पर्छ । स्थानीय तहमा वडा सम्मै महिलाको विषयमा वकालगत गर्ने संघसस्था सकृय छन् ।

 

 

तर पुरुषमाथी हुने हिंसाको विषय हाम्रो समाज गौण छ । यस्ता विषयमा नत पुरुषनै खुलेर आउन सक्छन्, नत पुरुष अधिकारको विषयमा आवाजमा उठाउने त्यस्ता संघसस्था नै छन् । ‘मलाई श्रीमान्ले दिनहुँ कुटपिट गर्छन्’ यही वाक्य एक श्रीमतीले सजिलै भन्न सक्छिन् । तर ‘म श्रीमतीबाट दिनहुँ कुटिन परेको छ’ सामाजिक संचरनाका कारण पनि कुनै श्रीमान्ले बाहिर खुलेर भन्न सक्दैन । किन ? किनकी त्यसो भनिरहँदा उसलाई समाजले ‘जोइटिंग्रे’ को बिल्ला भिराइदिन्छ । जसका कारण उ थप पिडित मात्रै हुनपुग्छ । न्याय पाउनु कुरो त अलि परकै ।

 

 

पारिवारिक भूमिका निर्वाह र पुरुषले भोग्ने पिडाः पारिवारिक भुमिका निर्वाह गर्ने पुरुषले अप्रत्यक्ष रुपमा कैयन पिडाहरु सहिरहेका हुन्छन् । तर त्यस्ता पर्दा पछाडीका पिडा नत समाजले बुझेको हुन्छ नत आफ्नै परिवारका सदस्यले ।

 

 

चलेको रीति अनुसार अविवाहित पुरुषले विवाह गर्छ । जीवनसाथीको रुपमा उसले अर्कै परिवारकी सदस्यलाई आफ्नै जिम्मामा घर भित्र्याउँछ । जो छुट्टै परिवेश, बेग्लै किसिमको उठबस, लवाइ खवाइमा हुर्केकी हुन्छे । उसलाई आफुनो परिवारमा समायोजन गर्ने पहिलो प्राथमिकता पनि तिनै पुरुषको हुन्छ । जुन काम उसका बाबु, बराजुले पनि गरेका थिए ।

 

 

नेपाली समाजमा दुई भिन्न धुब्रमा रहेका परिवार जोड्ने सेतुको काम पनि पुरुषले नै गर्छ । फरक परिवेशका परिवार मिले सबै ठिकठाक हुन्छ । तर भने जस्तो भएन भने थप विवाद र असमझदारी बढ्दै जान्छ । आपसमा ठाकठुक हुन्छ । अनि त्यसवापत उत्पन्न हुने पिडाको सामना पनि बिचरा त्यही पुरुषले गर्न पर्छ ।

 

 

नेपाली समाजको बारेका सुक्ष्म रुपमा अध्ययन गरेकाहरु भन्छन्, ‘जतिनै परिवर्तन र परिस्कृति भएपनि खासमा समाजको तितो वास्वीकता यहि हो, जहाँ सासुले बुहारी र बुहारीले सासुको अस्तित्व सहजै स्वीकार्न सक्दैनन् ।’ त्यसको बीचमा रहेका असल श्रीमान् तथा छोराहरु यसको पिडा सहज बाध्य हुन्छन् ।

 

 

जिम्मेवार पुरुषलाई आमा र श्रीमती दुवैको कुरा सुन्न पर्छ । जो गैर जिम्मेवार छ त्यसको कुरै नगरौ । जन्म दिने आमाको ठाउँमा आमालाई राख्न खोज्छ भने जीवनभर साथ दिन्छु भन्दै अग्नि साक्षी राखी सम्बन्ध गाँसेको जिवनसंगीनिलाई पनि उस्तै माया र सम्मान दिन पर्ने बाध्यता उसको हुन्छ । त्यो पुरुषका लागि दुवै नारीसँगको नाता अति बढी संवेदनशील हुन्छ ।

 

 

सबैलाई थाहा छ, घरमा सासू बुहारीबीच बेमेलको वातावरण सृजना हुँदा एक पुरुष अति नै असहज स्थितीबाट गुज्रिरहेको हुन्छ । कसलाई स्विकार्नु ? अनी कसलाई त्याग्नु ? आपसमा मिल्दै नमिल्नेलाई कसरी मिलाउनु ? पुरुषले भोग्ने यस्तो पिडाका बारेमा कहिंकतै आवाज उठेको छैन । बरु तीनै सासु बुहारीलाई उचालेर बाहिरि तत्वले परीवार भित्र खेल्ने गर्दछन् । जसको पिडा पनि त्यही पुरुषले भोग्न पर्छ ।

 

 

वैदेशिक रोजगार र पारिवारिक बिचलनः गरिबी, बेरोजगार अनि राजनीति उताडचडाबका कारण तीस लाखभन्दा बढी नेपाली युवा जोजगारिका लागि अहिले विदेशमै छन् । खुसी परिवार अनि सुन्दर भविष्यको सपना कल्पदै उड्ने धेरै युवाको सपना पुरा हुँदैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देहसँगै उडेको सपनाले अवतरण समेत गर्न पाउँदैन । जसको कथाव्यथा दर्दनाक छ । अनि त्यसबाट पनि तीनै पुरुष पिडित हुन्छन् । तर आवाज उठाइदिने कोही छैन ।

 

 

परिवारबाट धेरै टाढा । बिरानो मुलुक । ५० डिग्रीको घाममा लगातारको परिश्रम । श्रमको अवमुल्यन । यस्ता पिडाको बावजुद पनि नेपाली युवाहरु विदेश जान बाध्य छन् । कारण ? प्रष्टै छ, सुखी परिवार अनि सुन्दर भविष्य । पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा तीनै पुरुषहरुले पठाएको रेमिट्यान्सबाट मुलुक चलेको छ ।

 

 

तर मुलुकले उनिहरुको समस्या बुझ्दैन । मुलुकले त बुझेन परिवारका सदस्यले समेत उनीहरुको योगदान र समस्या नबुझ्दाको पिडा निकै कहाली लाग्दो छ । ‘वैदेशिक रोजगारले नेपालीको जिवनस्तर उकासिएको छ ।’ समाजशास्त्री भन्छन्, ‘तर पारिवारिक विचलनको अवस्था भने डर लाग्दो छ ।’

 

 

एउटा पुरुष विदेश जान्छ । दिनरात नभनी काम गर्छ । कमाएको पैसा श्रीमतीको नाममा पठउँछ । साहुको ऋण तिर्ने । ठाउँमा घर किन्ने । छोराछोरीलाई राम्रो बिद्यालयमा पठाउने । केहि वर्ष विदेश बसेर बाँकी समय परिवारका साथ हाँसीखुसी रमाउने । यस्तै त हुन्छ नी उड्दै गर्दा उसको मस्तिष्कमा कल्पना गरिएको बाँकी जिन्दगी ।

 

 

तर सबैको जिन्दगी कल्पना गरे जस्तो हुँदैन । उसले बर्षौ रगत पसिना बगाएर कमाएको सम्पतीसँगै उसकी प्राणभन्दा प्यारी श्रीमतीनै गायव हुन्छे, त्यो पनि स्वदेश फर्केपछि मात्रै उसलाई थाहा हुन्छ । अनि त्यो पुरुषले भोग्ने पिडा के अहिले बजारमा भन्ने गरिएको महिला हिंसा भन्दा कम छ ?

 

 

वास्तविकता के पनि हो भने, ‘विवाहको केहि दिनमै श्रीमान् विदेश उडेपछि जवान ती महिलाको शारिरिक आवश्यकता कसले पुरा गर्ने ?’ अध्ययन अनुसार धेरै महिलाहरु शारिरिक आवश्यकता पुरा गर्नका लागि पर पुरुषसँग सम्बन्ध राख्न पुग्छन् । तर क्षणीक रुपमा राखिएको सम्बन्धले कालान्तरमा परिवारमै बिचलन ल्याउँछ ।

 

 

यस्ता घटनामा पनि महिलाकै जित हुन्छ । महिला अधिकारकर्मीलाई प्रश्न, ‘अधिकारका चर्काचर्का नारा लगाउँदै गर्दा यस्ता विषयमा महिलालाई संवेदनशित बनाउने जिम्मेवारी कसको हो ?’ जानकारहरु भन्छन्, ‘अधिकारकारकै नाममा धेरै महिला अधिकारकर्मीको घरपरिवार नै बिग्रेको छ ।’

 

 

माथि उल्लेख गरे जस्तै गरी सबैको अवस्था उस्तै भने होइन । वैदेशिक रोजगारिकै कारण धेरैको भविष्य उज्जवल पनि भएको छ । जसको श्रीमतीसँगै घरपरिवारका सदस्यले विदेशमा बगाएको खुन र पसिनाको सदुपयोग गरेका छन् ।

 

 

बिधुर (एकल) पुरुष र वास्तविकताः कारणवश श्रीमतीको निधन भयो भने तुरुन्तै पुरुषले अर्को विवाह गर्छन् भन्ने मान्यता छ । तर सबैको हकमा त्यो लागु हुँदैन । संविधानले नै एकल महिलाको लागि विशेष व्यवस्था गरिदिएको छ । उनीहरुलाई सरकारले भत्तासमेत दिने गरेको छ । अधिकारकर्मीहरु पनि एकल मिहलाको लागि जोडतोडका साथ आवाज उठाउछन् ।

 

 

तर एकल पुरुषको अवस्था के छ ? उनीहरुले कस्तो समस्या भोग्न परेको छ ? छोराबुहारीले पालेका छन् छैनन् ? यता कसैको ध्यान पुगेको छैन । एकल महिलालाई जस्तै समस्या एकल पुरुषलाई पनि होला भन्ने यर्थाथ अधिकारकर्मीहरुले सोच्न आवश्यक छ । उनीहरुको एक्लोपनको संवोधन पनि हुन पर्छ । सबैको ध्यान पुगोस् जीवनको उत्तरार्धमा एक महिला जस्तै एकल पुरुषलाई पनि समस्या पर्छ ।

 

 

अतः महिला अधिकारका विषयमा राज्य संवेदनशील छ । पुरुषको अधिकार खोइ ? सबैको चाहान हो समाजमा पुरुष होस वा महिला कोही पनि दुःखी हुन नपरोस । राज्यको नीति नियम पनि त्यसै अनुसार बनोस । अनि बल्ल पुरा हुन्छ, ‘महिलालाई सम्मान गरौँ, आदर्श पुरुष बनौँ, हिंसामुक्त नारी, प्रत्येक पुरुषको जिम्मेवारी, घरशान्ति नै विश्वशान्तिको आधार ः महिलाहिंसा विरुद्ध शून्य, सहिष्णुता कायम गरौँ’ भन्ने विश्वव्यापी नारा ।

कल्पना खरेल, नेपालगञ्ज, बाँके ।

<